साउन १३, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा रोक्न सरकार संवेदनशील र गम्भीर रूपमा लागिरहेको बताएका छन् ।
बुधबार गृहमन्त्रालयमा अन्तरपार्टी महिला सञ्जालससँग गृहमन्त्री खाणले सरकारको प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताए । उनले खुला रूपमा निर्वाध ढङ्गले जनताले बाँच्न पाउने सुरक्षा अनुभूति हुने सुरक्षा राज्यले प्रदान गर्नेसमेत प्रतिबद्धता जनाए । महिला तथा बालबालिकामाथि बढिरहेको हिंसाप्रति गृहमन्त्री खाणलाई ध्यानाकर्षण गराउन महिला सञ्जाल गृहमन्त्रालय पुगेको थियो । पछिल्लो समयमा महिला तथा बालबालिकाहरूमाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटना हुने गरेको भन्दै सञ्जाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । पछिल्ला दिनहरूमा जघन्य प्रकारका मानव अधिकार विरोधी गतिविधिमा वृद्धि सञ्जालको ठहर छ ।
सञ्जालले लकडाउनको समय घरेलु हिँसा बढेको र यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएको छ । सञ्जालकी अध्यक्ष कल्याणी रिजालले महिला हिंसाका घटनामा निष्पक्ष छानबिन गरी सत्यतथ्यको आधार अपराधीहरूलाई हदैसम्मको सजाय र पीडितहरूलाई न्याय दिइनुपर्ने माग गरिन् । पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनले बनाइन् ।

