साउन ९, काठमाडौं। क्रियाशील सदस्याता वितरणमा धाँधली भएको भन्दै कांग्रेस पार्टी कार्यलय सानेपामा कार्यकर्ताहरु धर्नासहितको अनशन बसेका छन्। पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरिएको भन्दै बारा, धनुषा, रौतहट र सर्लाहीलगायत जिल्लाका नेता कार्यकर्ताहरु आमरण अनशन सहितको धर्नामा बसेका छन्।
पटक पटक मिति तोक्दै फेरी सर्दै आएको आसन्न १४ महाधिवेशन आउन करिब एक महिना मात्रै बाँकी छ। महाधिवेशनको मुखमै आएर कांग्रेसले महाधिवेशनको मिति संशोधन गरेको छ। उक्त संसोधित मिति अनुसार महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाडौंमा हुँदैछ। स्थानीय तह स्तरको अधिवेशन आउन अब केही घण्टामात्र बाँकी छ। तर, प्रारम्भिक मतदाताका रुपमा रहेका क्रियाशील सदस्यहरुको विवरण भने अझै टुंगिएको छैन। झन विवाद बढिरहेको छ।
कतै क्रियाशील सदस्यता नपाएको भन्दै पार्टी कार्यालयमा धर्ना भएको छ भने कतै पार्टी कब्जा गर्ने उद्देश्यले क्रियाशील सदस्यता वितरण भएको भन्दै धर्ना र अनशनसम्मका हर्कतमा नेता कार्यकर्ता पुगेका छन। यस्तो अलोकतन्त्रिक संस्कृतिले नेपालको पुरानो पार्टी कांग्रेसको आधारभुत चरित्र उजागर गरेको छ।
महाधिवेशनको मुखमा आएर पार्टीभित्र यसरी विवाद छचल्किनु भनेको हास्यास्पद र लज्जास्पद विषय हो। यसअर्थमा कि लोकतान्त्रिक आन्दोलनको संवाहक दावी गर्ने मुलधारको सबैभन्दा पुरानो पार्टी कांग्रेस महाधिवेशनको मुखमा आएर केन्द्रीय सदस्यता वितरणको विवादमा अल्झिएको छ। सदस्यता वितरणमा छानविन गर्न सकेको छैन।
क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टीको १३ औं महाधिवेशन पनि विवादका बाबजुद सम्पन्न भएको थियो। पार्टीमा देखिएका यस्ता सामान्य र संवेदनशील समस्या समाधान तिर जानु पर्ने हो तर, त्यस्तो भएको देखिँदैन। सदावहार आन्तरिक विवाद जस्तो बनिरहेको पार्टीभित्रको अन्त्यहीन गुट उपगुटको शक्तिसंघर्षका कारण पार्टी चरित्र, पार्टी प्रणाली र पार्टीका चुनौतीका बारेमा केही गम्भिर प्रश्न उद्घाटित भएका छन्।
क्रान्ति, आन्दोलन र संघर्षगरी प्राप्त गरेको प्रजातन्त्र र लोकतन्त्र मात्रै होइन २ सय ४० वर्षे पुरानो राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी रुपान्तरण र लोकतान्त्रिकरणका दृष्टिले आफै जटिल समस्यामा रहेको प्रष्ट देखिन्छ। क्रियाशील सदस्यता वितरण छानविन गर्न गठित नेता रमेश लेखक नेतृत्वको ५ सदस्सीय कार्यदलले काम गर्न सकेको छैन। भने विरोधका स्वरहरु चर्को बन्दै गएका छन्। केही जिल्लाहरुमा त विवादसमाधान तिर होइन अझै झागिँदै गएको छ।
पार्टी मुख्यालय सानेपामा अहिले विभिन्न माग सहितका नेताकार्यकर्ता थरी थरीका धर्नामा छन्। सोही धर्नामा आमरण अनसन बसेका छन् नेपालका पहिलो राष्ट्रपति डा। रामवरण यादवका छोरा समेत रहेका धनुषा कांग्रेसका नेता तथा पूर्वसांसद डा। चन्द्रमोहन यादव लगाएतका नेता कार्यकर्ता। उनीहरु धर्नापछिको आमरण अनशन बसेको नै छैटौँ दिन बितिसकेको छ।
उनले पार्टीको विधान विपरित क्रियाशील सदस्यता पाएकाहरुको सदसयता बदर गर्नुपर्ने, विधिअनुसार सदस्यता पाउनुपर्नेलाई दिनुपर्ने लगायतका माग राखेका छन्। उनी अनशन बसेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका आकांक्षी शेखर कोइरालालगायत नेताहरुले अनशनप्रति ऐक्यवद्धता जनाएका छन्।
तर, उनका माग पूरा गर्नेतर्फ कुनै छलफल भएको छैन। बरु पार्टी कार्यालयमा धर्ना भएको भन्दै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालय जानै छाडेका छन्। डाक्टर चन्द्रमोहन यादव पछिल्लो महाधिवेशनमा पनि क्रियाशील सदस्याताको विवाद रहँदा रहँदै महाधिवेशन सम्पन्न भएकोले अहिलेको महाधिवेशनबाट यी समस्या हल गरेर अघि बढ्नु पर्ने भन्दै आमरण अनसनमा बसेको बताउँछन्।

