विवादै विवादमा शिल्पाका श्रीमान् राज

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राजकुन्द्रालाई गएको सोमबार क्राइम ब्रान्चले पक्राउ गरेको छ । उनीमाथि अश्लील फिल्म बनाएको र त्यसलाई ‘पेड एप्स’ र वेबसाइटमा सार्वजनिक गरेको आरोप लागेको छ ।

राजविरुद्ध पर्याप्त सबुतका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राज विवादमा आएको यो पहिलोपटक होइन । यसअघि पनि उनी थुप्रै विवादमा फसिसकेका छन् ।

ब्रिटिस नागरिक

राज कुन्द्राको जन्म सन् १९७५ सेप्टेम्बर ९ मा बेलायतमा भारतीय मूलको पन्जाबी परिवारमा भएको थियो । उनका बुवा लन्डनमा बस ‘कन्डक्टर’ थिए । पछि उतै एउटा सानो व्यवसाय सुरु गरे । राजको व्यवसाय पनि विदेशसम्म फैलिएको छ । भारतीय मूलका भए पनि राजसँग बेलायती नागरिकता छ । पूर्वपत्नीमाथि अवैध सम्बन्धको आरोप

व्यवसायी राजको पहिलो विवाह सन् २००३ मा कविता कुन्द्रासँग भएको थियो । तर, उनीहरुको वैवाहिक सम्बन्ध धेरै वर्ष चल्न सकेन । सन् २००६ मा उनीहरुबीच सम्बन्धविच्छेद भयो । शिल्पाका कारण उनीहरुको सम्बन्धविच्छेद भएको हल्ला फैलियो । तर, राजले कारण अर्कै भएको खुलाए । राजले आफ्नी पूर्वपत्नीको आफ्नै बहिनीका श्रीमान् अर्थात ज्वाइँसँग अवैध सम्बन्ध भएको आरोप लगाएका थिए । राजकी आमाले उनीहरुलाई धेरैपटक ‘रंगेहात’ भेटेको पनि राजले बताएका थिए ।

पुनम पाण्डेले लगाएकी थिइन् आरोप

भारतीय चर्चित मोडल पुनम पान्डेले राज र उनका सहयोगीविरुद्ध ‘क्रिमिनल केस’ लगाएकी थिइन् । राजको एप कम्पनीले पुनमको फोन नम्बर राखेर अपशब्द ‘ट्याग लाइन’ दिएपछि उनलाई देश–विदेशबाट बारम्बार फोन आएर हैरान बनाएको आरोप उनले लगाएकी थिइन् ।

आईपीएलमा सट्टेबाजीको आरोप

राज इन्डियन प्रिमियर लिग(आईपीएल) टिम राजस्थान रोयल्सका मालिक थिए । उनीविरुद्ध ‘म्याच फिक्सिङ’ र सट्टेबाजीको आरोप लागेको थियो । छानबिनका क्रममा राज दोषी साबित भएका थिए । त्यसपछि उनलाई क्रिकेटका गतिविधिहरुबाट टाढा रहन आदेश दिइएको थियो । उनको टिम राजस्थान रोयल्सलाई आईपीएलमा दुई वर्षसम्म प्रतिबन्ध पनि लगाइएको थियो ।

ठगीको आरोप 

राज कुन्द्रामाथि सन् २०१७ मा एउटा कपडा कम्पनीले २४ लाख भारतीय रुपैयाँ ठगेको आरोप लगाएको थियो । आरोपितका अनुसार राज र शिल्पाले जुन कम्पनीको नाममा पैसा उठाएका थिए, त्यो कम्पनी नै थिएन । त्यसपछि प्रहरीले उनीविरुद्ध ठगीको उजुरी दर्ता गरेको थियो ।

बिटक्वाइन घोटाला

राजको नाम बिटक्वाइन घोटालामा पनि आएको थियो । पुणे प्रहरीको क्राइम ब्रन्चले छानबिन गर्दा राजलगायत केही बलिउडकर्मीहरुले बिटक्वाइनमा पैसा लगाउन अवैध ‘स्किम’को ‘प्रमोसन’ गरेको देखिएको थियो । त्यसमा करोडौँ रुपैयाँ घोटाला गरिएको उजुरी परेको थियो । एजेन्सीको सहयोगमा ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.