पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ: मुख्यमन्त्री पौडेल

असार २५, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

बिहीबार हेटौँडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उनले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले त्यसको संरक्षण र संवर्धन गरिनुपर्ने बताए।

ड्राइभरडाँडाको बस्तीलाई घरबास (होमस्टे) का रूपमा विकास गर्न निर्मित सांस्कृतिक भवनले यस क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो। मुख्यमन्त्री पौडेलले सरकार यस क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए। कार्यक्रममा हेटौँडा उपमहानरपालिका–१४ का अध्यक्ष दीपक खड्काले मुख्यमन्त्री पौडेलले वडाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे।

उद्घाटन कार्यक्रमपछि मुख्यमन्त्री पौडेलले स्थानीय नागरिकसँग अन्तर्क्रिया गरेका थिए। अन्तर्क्रियामा स्थानीयवासीले सडक, खानेपानीलगायतका भौतिक विकासका लागि मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए। स्थानीयवासीले मुख्यमन्त्री पौडेल अघिल्लो वर्ष यहाँ आएर खानेपानीको समस्या बुझेपछि पानीको व्यवस्था गरिदिएकाले अब स्थानीय खहरेमा पुल वा कज्वे निर्माण तथा सडकको स्तरीकरणमा चासो दिने विश्वास व्यक्त गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.