रसियाली विमान दुर्घटना अपडेट: सबै यात्रुको मृत्यु

असार २३, काठमाडौं । रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ। मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो।

प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो। त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरुले बताएका छन्।

विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए। रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान सुरु गरेको छ।

दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरु समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए। कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बले विमान समुद्रको चट्टानी भागमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी दिए। यो रुटमा विगतमा पनि हवाई दुर्घटना हुने गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.