असार २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दबाब दिएका छन् ।
वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् । ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिंगो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर–१० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए । महर्जन चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–११ का वडाध्यक्षसमेत हुन् ।
“यो दबाबले नेकपा एमाले टुटफुट नभई एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ,” उनले भने । चन्द्रागिरि काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । रासस

