असार १७, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाइनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र शपथसम्बन्धी अध्यादेश, २०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उपप्रधान एवम् गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
राष्ट्रियसभा अध्यक्षले पूर्वराष्ट्रियसभा सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानांग, प्रा. विदुर पौडेल, पूर्वप्रतिनिधिसभा सदस्यहरू एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्ण सिंह परियार एवम् संविधानसभा सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नवीन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

