एमाले नेता भुसालद्वारा स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता

असार १३, काठमाडौं । नेकपा (एमाले) नेता एवं राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।

आइतबार (आज) भुसालले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यवहार गर्न आग्रह गरेका हुन् । भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन् । भुसालले पत्रमा आफू तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको उल्लेख गर्दै भनेका छन्, ‘त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिए । सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविदितै छ र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

त्यस्तै, भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवं निर्देशन दिन अनुरोध गर्दै आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन लेखा शाखालाई आग्रह पनि गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.