बन्दको प्रभावः भक्तपूरको सूर्य विनायकमा बम भेटिएको हल्ला पछि यातायातमा प्रभावित

साउन २९, काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (बिप्लब) ले आज गर्ने भनिएको नेपाल बन्दका कारण काठमाडौं उपत्यका लगायतमा सवारी आवागमन प्रभावित भएको छ ।

बन्दकर्ताहरु सडकमा खासै नदेखिए पनि सवारीसाधन भने आंशिक मात्र चलेका छन् । बजार पनि कम मात्र खुलेका छन् भने अधिकांश विद्यालयहरुले हिजो नै विदाको सूचना सार्वजनिक गरिसकेका छन् । भक्तपूरको सूर्य विनायकमा बम भेटिएको हल्ला पछि त्यसभेगमा सवारी चलेका छैनन् । अन्य क्षेत्रमा पनि सवारीसाधन अरु बेला भन्दा कम चलेको बताइएको छ । यता नेपाल कम्यूनिस्ट पार्टी (बिप्लब) ले आज नेपाल बन्दको घोषणा गरेको छ । आफ्नो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरुको रिहाईको माग गर्दै उसले नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको पूर्वसन्ध्यामा हिजो साँझ विभिन्न स्थानमा मसाल जुलुस सम्पन्न गरिएको नेकपाको दाबी छ । सोही क्रममा कपिलवस्तुको छुट्टाछुट्टै तीन स्थानमा मसाल जुलुस सम्पन्न भएको नेकपाका जिल्ला सेक्रेटरी सुनिल थारुले जानकारी दिए । थारुका अनुसार शिवराज नगरपालिका, वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा मसाल जुलुस सम्पन्न गरेको छ ।

शिवराज नगरपालिका १, उमरी चोकमा मसाल जुलुस निकाली कोणसभा सम्पन्न भएको जिल्ला सेक्रेटरी थारुले बताए । हातमा मसाल सहित र्याली निकाली उमरी चोकमा कोणसभा गरिएको थारुले जानकारी दिए । कोणसभामा सम्बोधन गर्दै जिल्ला इन्चार्ज संगम पुनले नेपाल बन्दलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने आग्रह गरेका छन् । बन्दमा यातायात, बजार, कलकारखाना, शिक्षण संस्था सम्पूर्ण ठप्प पारिने पुनको भनाई छ । बन्दको अवज्ञा गरेमा जवाफदेही आफैं हुनुपर्ने समेत उनले चेतावनी दिए । प्रेम थारुको संचालनमा सम्पन्न कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको जिल्ला सेक्रेटरी सुनिल थारुले बताए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.