साउन २८, काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बाटोको म्यादबाहेक ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्दै बन्दीलाई पनि उपस्थित गराउन भनेको हो । ७ करोड चन्दा उठाएको आरोपमा पक्राउ परेका प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई जिल्ला अदालत काठमाडौंले आईतबार थप तीन दिनको म्याद दिएर प्रहरीलाई अनुसन्धानको अनुमति दिएको छ ।