नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

जेठ २१, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख छ । तथापि कुन मुलुकलाई कति खोप दिने भन्ने वक्तव्यमा उल्लेख छैन। ह्वाइट हाउसले जारी गरेको वक्तव्यपत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवान्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई खोप सहयोगका लागि पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन्। राष्ट्रपति भण्डारीले खोप अपिल गरे मध्ये अमेरिकाको सहयोगको घोषणा दोस्रो हो। केहि दिन अघिमात्र चीनले पनि १० लाख डोज खोप उपलब्ध गराइसकेको छ, जुन राष्ट्रपति भण्डारीकै पहलमा भित्रिएको हो। अमेरिकाले उपलब्ध गराउने खोप यदि १६ मुलुकलाई बराबर वितरण भएपनि ४ लाख बढी डोज खोप नेपाल भित्रिने निश्चित छ। तर, संख्याको आधिकारिक घोषणा नभएको हुनाले यसबारे थप जानकारी भने केहि दिनमा थाहा हुनेछ।

अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा २५ मिलियन डोज खोप प्राप्त गर्ने मुलुकको सूची सार्वजनिक गरेको हो। अमेरिकाको यो खोप वितरण खाका अनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने भएको छ। अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्य अमेरिकी मुलुकको लागि ६ मिलियन, अफ्रिकी मुलुकको लागि ५ मिलियन खोप वितरण गर्ने जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.