साउन २८, काठमाडौं । सरकारले टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीसँग फेरि स्पष्टिकरण माग गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले उनीसँग दुईपल्ट स्पष्टिकरण सोधसकेको छ । सूचना तथा संचार मन्त्रालयले राजभण्डारीको काम चित्तबुझ्दो नभएको भन्दै पदबाट किन नहटाउने ? भन्दै स्पष्टिकरण सोधेको स्रोतले जानकारी दियो । सर्तअनुसार राजभण्डारीले दिने स्पष्टिकरण चित्तबुझ्दो नभए हटाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यसैबीच नेपाल टेलिकमले आर्थिक वर्ष २०७४–७५ को आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । जसमध्ये टेलिकमले कम्पनीका टेलिफोन आधार ग्राहक झन्डै दुईकरोड रहेको जनाएको छ ।
“२०७५ जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ,” टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बृद्धि भएको छ ।” त्यसैगरी गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिब ४५ अरब ५६ करोड ५८ लाख रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको छ । साथै सोही अवधिमा कम्पनीको नाफा करिव १५ अरब ६६ करोड ७५ लाख रहेको छ । यस अनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले बृद्धि भएको विज्ञप्तिमा जनाइएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको उल्लेख छ । यस्तैगरी विगत लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ । सो अनुरुप हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको टेलिकमले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्र मध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको जनाएको छ । २०७५ जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ । यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले वृद्धि भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पुर्याउन कम्पनी सफल भएको छ । कम्पनीको इतिहासमा प्रथम पटक कम्पनी ऐनले तोकेको समय भित्र नै कम्पनीको वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हाल सम्मकै सबैभन्दा बढी लाभांस वितरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने सम्बन्धी निर्वाचन र कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन लामो समय देखि रोकिएर रहेकोमा गत आर्थिक वर्षमा दुवै निर्वाचन गराउन सफल भएको उल्लेख गरिएको छ ।
यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५–७६ का लागि समेत विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ । यस मध्ये केही महत्वकांक्षी योजना आवको शुरुवातसँगै कार्यान्वयनमा आउन थालेको विज्ञप्तिमा जनाइएको छ ।
पूर्वाधार विकास
मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँचवटा बोलपत्र आह्वान भइसकेको छ । यस अनुसार पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा९धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिनेछ ।
साथै पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने छ ।
यसैगरी काठमाडौं९तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनि गरिने कार्यक्रम रहेको छ । साथै प्रदेश १,२,३ बाहेकका क्षेत्रहरुमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूर्वाधार बिस्तार गर्नेछ । शहरी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास गर्ने उद्देश्य लिई नेपाल सरकारका विभिन्न निकायहरूसँग थप सहकार्य गर्दै सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।
वायरलेस सेवाः
जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्ष २०७५–७६ मा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य लिइएको छ । मोबाइल सेवाप्रति ग्राहकहरुको बढ्दो रुचीलाई ध्यानमा राखी प्रमुख शहरहरुमा फोर जी सेवा सञ्चालन आरम्भ भैसकेको छ ।