जेठ १७, काठमाडौं । नेपालमा हाल पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अपरान्ह्पछि काठमाडौं उपत्याकामा आज वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । उनका अनुसार काठमाडौंमा सामान्य वर्षा हुने छ । काठमाडौंमा आज दिउँसो अधिकतम तापक्रम २८–३० डिग्री सेल्सियससम्म पुग्ने शाक्यको भनाइ छ । काठमाडौंको न्यूनतम तापक्रम १९.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको भन्त्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

