साउन २८, काठमाडौं । केटा र केटीबीच शारिरीक सम्पर्क भएर गर्भ रहेमा स्वतः विवाहमा परिणत हुने भएको छ । राजीखुसीको सम्पर्कमा महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ।
जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा भने पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भए पनि सोही कारणले पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने छैन । नभए सहमतिमा शारिरीक सम्पर्क गरेपनि बलात्कार मानिने छ ।
बलात्कारको दोषि भने पुरुष नै हुनेछ । जबर्जस्ती करणीलाई अपराध संहितामा करणीसम्बन्धी कसूरमा समेटिएको छ । पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो । तर, १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने पुरानो मुलुकी ऐनले व्यवस्था गरेको थियो ।
बलात्कारीलाई मारेपनि खतबात नलाग्ने
नयाँ कानूनमा वैवाहिक बलात्कारको नयाँ अवधारणा नै थपिएको छ । ‘लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीन वर्ष देखि पाँच वर्षसम्म कैद हुने’ उल्लेख छ । त्यसपछि पनि श्रीमतीको सम्मानित जीवनका लागि विभिन्न सुरक्षाका व्यवस्था गरिएका छन् ।
बलात्कारको शिकार हुने महिलाले आत्मरक्षाको लागि प्रत्याक्रमण गर्दा कुनै अपराध नठहरिने भनिएको छ । जबरजस्ती करणीको महलको ८ नम्बरले बलात्कारको प्रयास भएको वा घटना भएको एक घन्टाभित्र गरिएको प्रत्याक्रमणमा वलात्कारीको मृत्यु भएपनि कुनै खतबात नलाग्ने साविकको व्यवस्थालाई संशोधन गरेको छ । प्रस्तावित कानूनमा त्यो एक घन्टाको हद हटाइएको छ । जबरजस्ती करणीकी पीडितलाई कर्ताबाट क्षतिपूर्ति दिने व्यवस्थालाई अझ फराकिलो बनाउन खोजिएको छ । ‘