साउन २८, काठमाडौं। टेलिफोन वा मोबाइलमा कतिपयले ‘हेलो’ होइन ‘ओम् बोलबम’को सम्बोधनबाट कुराकानी आरम्भ गर्न थालेका छन् ।
साउन महिनाभर महादेवको स्तूतिमा लागिपरेका सबै शिवभक्तले यो सम्बोधनलाई चलनचल्तीमा ल्याएका छन् । यसो त कृपालुजी महाराजका भक्तले फोन उठाउँदा ‘राधेराधे’ सम्बोधन गर्न थालेको धेरै भइसक्यो । कृष्णप्रणामी मतकाले ‘श्रीकृष्ण’ सम्बोधन गर्ने र साइबाबाका भक्तले गर्ने ‘साइराम’ अनि रजनिशका भक्तले सम्वोधन गर्ने ‘ओशो’ सम्बोधन पनि चलनचल्ती छ ।
यी सम्बोधन माझ अब शिवभक्तले टेलिफोन, मोबाइल वा अन्य दूरभाषमा सम्बोधन गर्नुपर्दा ‘ओम् बोलबम’ सम्बोधनलाई चलनचल्तीमा ल्याएका छन् । ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार यो सम्बोधन सादगी हो, सात्विक भोजन सकारात्मक विचार र सहयोगी भावबाट ओतप्रोत भएको सम्बोधनको रुपमा ओम् बोलबम उच्चारणलाई लिइएको छ । साइराम, राधेराधे, श्रीकृष्ण वा बोलबम झट्ट सुन्दा धर्म क्षेत्रका मतमतान्तर जसो देखिएपनि खास मै यसो होइन । अध्यक्ष ठाकुर भन्नुहुन्छ, “राधेराधे भन्नेले ओम् बोलबम भन्न सक्छ, ओम् बोलबम भन्नेले राधेराधे वा श्रीकृष्ण वा साइराम वा ओशो जुन सम्बोधन कानमा आइपुग्छ कर्णप्रिय रुपमा सोही सम्बोधन फर्काएर आत्मीयता व्यक्त हुन्छ ।”
यसले आपसी सद्भाव समेत बलियो रुपमा प्रकट गरोस् भन्ने चाह आफूहरुको रहेको अध्यक्ष ठाकुर भन्नुहुन्छ । साउन महिनाको बोलबम यात्रा यो २८ गतेको अन्तिम सोमवारको रातदेखि सकिँदैछ तर वर्षभरि नै शिवभक्तबीच यो सम्बोधन रही रहोस् अध्यक्ष ठाकुरले चाहना व्यक्त गर्नुभयो ।