कालीमाटी तरकारी बजारमा घटेन काेराेनाकाे जोखिम

जेठ ७, काठमाडौँ । देशकै ठूलो तरकारी बजार कालीमाटीको खुद्रा र किसान बजार बन्द गरे पनि भीडभाड नियन्त्रण हुन सकेको छैन। जसले गर्दा बजारमा स्वास्थ्य जोखिम बढेको छ। खुद्रा र किसान बजारमा तरकारी कारोबार गर्ने व्यापारीले बजारबाहिर सडकपेटीमै बसेर खुला रूपमा व्यापार गर्न थालेपछि झनै जोखिम बढेको हो।

खुद्रा तरकारीको व्यापारका कारण कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा गत वैशाख २८ गते कालीमाटी फलफूल तरकारी बजार विकास समितिले कृषक बजार २९ गते र खुद्रा बजार ३० गतेबाट बन्द गर्ने निर्णय गरेको थियो तर केही व्यापारीले अटेर गरेर तरकारी बजार छिर्ने प्रवेशद्वारको वरपर बसेर व्यापार गर्दा झनै जोखिम बढेको भन्दै कालीमाटी समितिले अटेरी गर्ने दुई खुद्रा व्यापारीको स्टल नै खारेज गरेको छ। समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले कोरोनाको महामारीमा कालीमाटी बजारको प्रवेशद्वारमा बसेर तरकारी बिक्री गर्ने र नगर्न आग्रह गर्ने सुरक्षागार्डमाथि हातपात गर्ने दुई व्यापारीलाई कालीमाटी प्रहरी वृत्तको सहयोगमा कारबाही गरिएको जानकारी दिए।

थोक बजार पनि सुरक्षित छैन
कार्यकारी निर्देशक भट्टराईले कालीमाटीको थोक बजार असुरक्षित हुँदै गएको बताए। उनले राति १ बजेदेखि बिहान १० बजेसम्म खुला हुने कालीमाटी बजारमा तरकारी किन्न आउनेलाई जति आग्रह गर्दा पनि भीड नियन्त्रण गर्न नसकिएको बताए। एउटा स्टलमा बिक्री गर्ने र किन्ने गरी दुई जनाभन्दा बढी हुन नहुने मापदण्ड बनाइएको छ तर एउटै स्टलमा १५र१६ जना झुम्मिएका हुन्छन्, कसरी सकिन्छ रु उनले प्रतिप्रश्न गरे।

समितिबाट दिनहुँ कालीमाटीमा माइकिङमार्फत सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, हात धुन, सेनिटाइजर लगाउन भनिएको हुन्छ तर पनि नाकमुनि मास्क लगाएर तरकारीमै भीडभाड गर्छन् भन्दै कार्यकारी निर्देशक भट्टराईले स्वयं व्यक्ति सचेत र सतर्क नभएसम्म अरूले नियन्त्रण गर्छु भनेर मात्रै नहुने अनुभव सुनाए।

कालीमाटीका व्यापारी उच्च जोखिममा
बजारमा तरकारी किन्नेको भीडले गर्दा व्यापारी जोखिममा रहेको बताउँछन् । कालीमाटीका थोक व्यापार संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारी खरिद गर्नेले सामान्य स्वास्थ्य मापदण्डको पनि पालना नगर्दा व्यापारी उच्च जोखिममा रहेको बताए। समितिका अनुसार बजारका व्यापारीमध्ये १२ जना सङ्क्रमित भेटिएका छन् तर कोही डराएका छैन। दुई दिनअघि कालीमाटी तरकारी बजारमा काठमाडौँ महानगरपालिकाले गरेको झन्डै चार सय पीसीआर परीक्षणका क्रममा १२ जना सङ्क्रमित भेटिएको समितिले जनाएको छ।गोरखापत्रबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.