साउन २७, महोत्तरी । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले बर्दिवासमा शोक छाएको छ ।
भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यालयमा काम गरिरहँदा तीन महिनाअघि अचानक बेहोस भएर लडेपछि रायलाई उपचारार्थ काठमाडौँ लगिएको थियो। काठमाडौँमा उनलाई ब्रेनट्युमर भएको पत्ता लागेपछि थप उपचारका लागि भारतको दिल्लीस्थित गङ्गाराम अस्पतालमा शल्यक्रिया गरिएपछि क्यान्सर भएको चिकित्सकले बताए। त्यसपछि रायलाई दिल्लीकै राजीव गान्धी अस्पतालमा उपचार थालिएको थियो। त्यही नै रायको राति निधन भएको हो। रायका पति र एक छोरा छन्।
रायप्रति श्रद्धाञ्जली चढाउँदै प्रमुख जिल्ला अधिकारी ढकालले मुलुकले एउटा कर्तव्यनिष्ठ अनुशासित अधिकृत गुमाएको बताए। विसं ०३७ सालमा महोत्तरीको जलेश्वर नगरपालिकाको अन्कार बखरीमा जन्मेकी रायले ०६७ मा शाखा अधिकृत पदबाट सेवाप्रारम्भ गरेकी थिइन्। सेवाप्रारम्भदेखि नै जिल्लामा जिल्ला निर्वाचन अधिकारी भएर खटिनुभएकी रायकै कार्यकालमा विसं ०७० को संविधानसभा निर्वाचन र ०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको जिल्लावासीले सम्झेका छन्। रायको आजै जनकपुरधामको पवित्र धार्मिकस्थल गङ्गासागर किनारअवस्थित स्वर्गद्वारमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन्।

