साउन २७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अधिनायकवादको कृत्रिम हल्ला गरी कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्न कोशिस गरेको बताए ।
उनले ‘तातो चियाको कपमा बाफ उडेजस्तै कृत्रिम हल्ला फैल्याउने कोसिस भइरहे’ पनि सरकारलाई त्यसले कुनै असर नगर्ने दावी पनि गरे । आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको बताए । लोकतन्त्रलाई कहीँकतै पनि कमजोर हुन नदिन सरकार सचेत रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ बनाउन सरकारले छिमेकी मुलुक भारत तथा चीन र संयुक्त राष्ट्र संघसँगको सम्बन्धलाई अझै समुधुर बनाउने प्रयास गरिरहेको पनि स्मरण गराए । उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु विश्वकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको अनुभव विश्वसामू पुर्याउने योजना पनि रहेको बताए ।