अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु

बैशाख ३०, काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र एक मजदूरको मृत्यु भएको छ। विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

बुधबार बिहान साढे ८ बजे आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा रहेको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले रानाको मृत्यु भएको हो। घटनामा सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका छन् । घाइते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको छ। सो जलविद्युत् परियोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन्। परियोजनामा नेपाली र भारतीयसहित तीन हजार भन्दा बढी मजदूर कार्यरत छन्।

नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ। आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.