बैशाख २६, काठमाडौं । काठमाडौं महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगरस्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र वैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो ।
आइतबार महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जनाएको छ । यसअघि असारबाट शैक्षिकसत्र सुरु गर्ने योजनाअनुसार परीक्षालगायत शैक्षिक कार्यक्रम चलिरहेका थिए । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले भने, ‘‘त्यसैअनुसार जेठसम्ममा सबै परीक्षा सक्ने गरी कार्यक्रम चलिरहेका थिए । अहिले कोभिड संक्रमण बढ्दो क्रममा भएकोले कक्षा ८ को परीक्षा स्थगन गरेका छौँ । एसईई परीक्षा र अर्को शैक्षिक सत्रको सुरुवातका सम्बन्धमा सरकारको निर्णयबमोजिम गर्नेछौँ ।” सुवेदीकाअनुसार महामारीको अवस्था हेरेर आगामी दिनका शैक्षिक कार्यक्रमहरुका बारेमा क्रमशः निर्णय हुँदै जानेछ ।

