जनस्वास्थ्यसँग खेलबाड गर्नेलाई कारबाही गर्न राप्रपाको ध्यानाकर्षण

बैशाख २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतबाट खरिद गरेर ल्याउने भनिएको कोभिसिल्ड खोप कमिसन चलखेलका कारण रोकिएको खबरले नेपाली जनमानस स्तब्ध, आश्चर्यचकित र आक्रोशित भएको जनाएको छ ।

शनिबार पार्टीका तीन अध्यक्षद्वारा जारी विज्ञप्तिमा संकटको समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिइनु अमानवीय र व्यावसायिक धर्मविपरीतको कार्य भएको जनाइएको छ । “जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “विद्यमान कोभिड संकटको नियन्त्रण र रोकथाममा सम्पूर्ण सामर्थ्य लगाइ नेपाली जनजीवनलाई थप नोक्सान हुनबाट जोगाउन सरकारको थप तदारुकताको खाँचो छ ।”

देश नै अप्ठेरोमा परेको बेला हेलिकोप्टर कम्पनीहरुले भाडामा व्यापक वृद्धि गरिनु, अत्यावश्यक औषधि, अक्सिजनलगायत वस्तुको कालोबजारी हुनु अकल्पनीय र नेपालीको मौलिक चरित्रविपरीतका गतिविधि भएको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यको प्रभावकारी अनुगमन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ । कोरोनाका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

यस्तै, संक्रमण हुनबाट जोगिन भौतिक दूरी कायम, मास्कको अनिवार्य प्रयोगजस्ता स्वास्थ्य मापदण्ड पालना गर्न पार्टीले सबैलाई अपिल गरेको छ । नागरिकको सेवामा समर्पित हुन पनि विज्ञप्तिमार्फत पार्टीका सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.