बैशाख २५, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको कोभिड १९ कारण निधन भएको छ ।
वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।
नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं-७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ४३ वर्षीय तामाङ मधुमेह रोगबाट पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । साविकको लप्सेफेदी गाविसको वडा नं-३ निवासी तामाङ वि.सं २०७४ को निर्वाचनमा हालको शंखरापुर वडा नं-४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए ।

