बिम्स्टेक सम्मेलन: परराष्ट्र सचिवस्तरीय बैठक आज

साउन २६, काठमाडौं। आउँदो भदौ १४ र १५ गते नेपालमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनको पूर्व तयारीको लागि शनिबार परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा हुँदैछ । तयारी बैठकमा भाग लिनका लागि बिम्स्टेकका महासचिवलगायत छ वटै राष्ट्रका परराष्ट्र मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु शुक्रबार नै नेपाल आइसक्नुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो ।

एक दिने त्यस बैठकले आगामी सम्मेलनलाई कसरी सफल र बढी प्रभावकारी बनाउने, के कस्ता कार्यसूचीमा छलफल गरेर निष्कर्षमा पुग्ने भन्ने विषय तय गर्नेछ । नेपालले अध्यक्षता गर्ने बिम्स्टेक सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकहरू भारत, बङ्गलादेश, श्रीलङ्का र भुटानका साथै दक्षिण पूर्वी एसियाली राष्ट्रहरू(आसियान) बाट थाइल्यान्ड र म्यानमारका सरकार प्रमुखहरु विदेश मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु नेपाल आउनुहुनेछ । भदौ १४ र १५ गतेको मुख्य बैठकभन्दा अघि भदौ १२ गते पुनः सचिवस्तरीय र १३ गते बिम्स्टेकस्तरीय विदेशमन्त्रीहरूको बैठक पनि हुनेछ ।

विशेष सफाइ अभियान
बिम्स्टेक सम्मेलनमा भाग लिन आउने सरकार प्रमुखहरूको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले विशेष सफाइ अभियान थाल्ने भएको छ । महानगरपालिकाले पाहुनाको स्वागतको लागि महानगरपालिकाले १० देखि १२ स्थानमा स्वागतद्वार निर्माण गर्ने र विशेष सफाई अभियान थालिने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘महानगरपालिकाले भदौ १ गतेदेखि सडकमा फोहोर थुप्रिन दिने छैन ।’

नेपालका लागि विशेष पर्वको रूपमा रहेको यो सम्मेलनलाई महानगरपालिकाले सोही अनुसारको तयारीमा जुट्ने उहाँले बताउनुभयो । यतिवेला चारैतिर हरियाली भएकोले कृत्रिम हरियाली बनाउन आवश्यक नभएको उहाँले बताउनुभयो ।  महानगरपालिकाकाले गएको सार्क सम्मेलनमा पनि नगरलाई निकै सफा र झिलिमिलि पारेको थियो । त्यतिबेला रातारात हालिएका सडक बत्तीमध्ये अधिकांश अहिले नबल्ने अवस्थामा छन् । सिंहदरबार भद्रकाली मार्गका सडक बत्ती कुनै बल्दैनन् । सडक बत्तीको जिम्मा भने महानगरपालिकाको नभएको प्रवक्ता कार्की बताउनुभयो । उहाँका अनुसार सडक बत्तीलाई चुस्त दुरुस्त राख्ने जिम्मा विद्युत् प्राधिकरणको भएकाले त्यस जिम्मेवारीका लागि प्राधिकरणले जिम्मेवारी लिनेछ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.