बढ्दो कोरोना सङ्क्रमणले अन्योलमा एसईई

बैशाख २२, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।

राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुन सक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरूले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।
पुतलीसडकस्थित एक विद्यालयका शिक्षक नारायण गौतमले विद्यार्थी निकै मारमा परेको बताउँदै भन्नुभयो, “कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु गरेका छौँ तर कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थिति छैन । निर्धारित मितिमै परीक्षा हुने हो भने यी विद्यार्थीले न्याय पाउने देखिँदैन ।”

गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिनअगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहो¥याएर अभ्यास गर्न त टाढाकै कुरा, कोर्स नै पूरा हुन सकेको छैन ।

पाठ्यक्रम विकास केन्द्रका पूर्वकार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले महामारीमा परीक्षा लिनै पर्छ भन्नेमा बौद्धिक तर्क नरहेको बताउनुभयो । “महामारीका समयमा आवश्यक पर्ने कुनै प्राविधिक जनशक्ति छान्न परीक्षा सञ्चालन गर्नु एउटा कुरा हो तर यो परम्परागत परीक्षा लिनु आवश्यक छैन, लिनु हुन्न”, उहाँले भन्नुभयो, “सामान्य स्थितिमा साबिककै विधि अपनाऔँला तर महामारीमा गत वर्षकै जस्तो विधि अपनाउन सकिन्छ । चाररपाँच महिना त कक्षाकोठामा अध्यापन गरेकाले शिक्षकले विद्यार्थीको ल्याकत बुझेका छन् । त्यसैका आधारमा मूल्याङ्कन गर्न सकिन्छ तर शिक्षक इमानदार हुनुपर्छ ।”
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गर्दै थप्नुभयो, “छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध स्रोत साधनका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ । उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्ने छ ।”

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले अहिलेको अवस्था हेर्दा छिटै समस्याबाट पार पाइने नदेखिएको बताउँदै परीक्षा लिने नै भए प्रश्नपत्र विद्यालयलाई नै पठाइदिएर परीक्षा उसैले लिने विधि अपनाउनुपर्ने सुझाव दिनुभयो । “गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्न पनि सकिन्छ तर बढी अङ्क दिने बदमासी हुन सक्छ । त्यसैले यसलाई निगरानी गर्ने संयन्त्र तयार गर्नुपर्छ ।” राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आफूहरू छलफलमै रहेको बताउँदै भन्नुभयो, “अवस्था हेरेर यो महिनापछि मात्र निर्णय गर्नेछौँ ।” गोरखापत्रबाट ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.