बैशाख १९, काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको हो ।
४७ लिटरका १३५ सिलिन्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो अक्सिजन भर्ने प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।
महानगरकाअनुसार गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा अक्सिजन प्लान्ट गरिने जनएको छ । दुई ठाउँबाट दैनिक करिब २ सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करिब २ सय सिलिन्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ ।

