साँखु बजारमा स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा

बैशाख १८, काठमाडौँ । बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए। स्यानिटाइज गरी नाथ सम्प्रदायका योगी पूजा गरेपछि खटलाई बोकेर साँखु क्षेत्र घुमाइएको छ।

चैत्र शुक्ल पूर्णिमादेखि शुक्रबारको मूल जात्रा अघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन बज्रयोगिनी माईलाई पूजा आराधना र दर्शन गर्ने चलन छ। जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाच लगायत नकारात्मक तत्वलाई पन्छाउने विधिसमेत आज पूरा भएको छ।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सुरु गरिएको थियो। जात्रा वैशाख शुक्ल अष्टमी अर्थात् वैशाख २१ गतेसम्म जारी रहने जनाइएको छ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि सुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगित गरिएको थियो। जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको, चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजर समेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंहले जानकारी दिए। वैशाख कृष्ण अष्टमीसम्म हुने यो जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद ९बुद्धमूर्ति०, सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ।

तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ। राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहेका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।

शङ्खरापुर नगरपालिका वडा नं।४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ। खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ। यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको छ।

धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लागेका ‘सक्व’ले जानकारी दिए।

गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो। यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ। बिहीबार मूल जात्रा चलाउने नचलाउने विषयमा दुई पक्षबीच विवाद भएपनि आज बिहान बजार क्षेत्रलाई स्यानिटाइज गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.