उपत्यकामा निषेधाज्ञाको आज तेस्रो दिन, देशभर २३ जिल्लामा निषेधाज्ञा

बैशाख १८, काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमणको अवस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ।

गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ। त्यसमध्ये शुक्रबारसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ।
केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ। आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा वैशाख १८ (आज) र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा आदेश कार्यान्वयनमा छ। कालीकोट, बागलुङ, बर्दिया र  दार्चुलामा आंशिक आदेश जारी भएको छ।

यता जाजरकोटमा वैशाख १८ गते (आज) रातिदेखि तथा सल्यान र  डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि र झापामा १९ गते राति १२ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ ।

आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ। गृह प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.