माथिल्लो तामाकोशीको आयोजनाको शेयर आवेदनका लागि एक साताको म्याद थप

साउन २५, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ ।

राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबार सम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधि अनुसार आगामी भदौ १ गते सम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । साउन १६ गते देखि २५ गते सम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले विहिबार एक साता समय थप गरिएको जानकारी दिए । “स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको अवधि थप गरेको छ, बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी देलान् ।”

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौँमा उत्साहप्रद रुपमा शेयर आवेदन आइरहेको जानकारी दिए । उनका अनुसार बुधबार साँझसम्म करीब ४५ हजारले आवेदन गरेको जानकारी बिक्री प्रबन्धकले गराएको छ । बुधबार एकैदिन १५ हजारले शेयर आवेदन गरेका थिए । विहिबार पनि बैंक तथा वित्तीय संस्थामा ठूलो भीड लागेका कारण करीब १५ हजारको थप आवेदन परेको हुन सक्ने उनको भनाइ छ । बुधबार अबेर सम्म ९७ करोड ८६ लाख बराबरको आवेदन परेको छ । आयोजनाले स्थानीय बासिन्दाका लागि एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको थियो । सरकारी नियमानुसार स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरिन्छ ।

करीब पाँच गुणाबढी आवेदन पर्ने

प्रवक्ता डा न्यौपानेले राजधानीमा नै करीब दुई अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको छ । दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा पाँच गुणा भन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ । त्यो भनेको करीब पाँच अर्ब बराबरको आवेदन पर्ने देखिएको छ । नागरिकले आयोजना प्रति उत्साहका साथ विश्वास व्यक्त गरेको पाइएको प्रवक्ता डा न्यौपानेले बताए ।

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्त सम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ । हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरेपछि सर्वसाधारणलाई एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।
–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.