हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

बैशाख १२, हुम्ला । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ।

हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो। जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइका साथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ। त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच सुरु गरिने भएको छ। त्यसैगरी जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्यरूपमा हेल्थ हेस्कमा राखिने भएको छ। हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने भएको प्रजिअ आर्चायले बताए।

जिल्लास्तरका र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन स्थापना तत्काल गरिने भएको छ। कोरोना सङ्क्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन शय्याको आइसोलेसन रहेको र अन्य उपचारका सामग्री अभाव भएको डा टसी आङ्जुले जानकारी दिए। नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हुम्लाका नागरिकलाई थप समस्या बनाएको छ। एकमात्र हवाई यातायातामार्फत निर्वाधरूपमा नेपालगञ्ज–सुर्खेतबाट यात्रु ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेपछि स्थानीयवासी त्रसित भएका छन्।

नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको अवस्था हेरेर एक हप्तासम्म कडाइका साथ स्वास्थ्य सुरक्षा सावधानी अपनाएर उडान गर्न आवश्यक रहेको स्थानीयवासी हेमन्त बोहराको भनाइ छ। सिमकोट विमानस्थलमा सुरक्षा तथा स्वास्थ्य जाँच फितलो छ। सिमकोट गाउँपालिका तथा जिल्ला कोभिड व्यवस्थापन समितिले खासै चासो नदिँदा जिल्ला बाहिरबाट आउने यात्रुहरुलाई विमानस्थलमा ज्वारो जाँच गरेको आधारमा छाडिने गरेको छ।

जिल्ला बाहिरबाट आउने यात्रुलाई कम्तीमा एक हप्तासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि त्यसो नभएको पाइएको छ। गत वर्ष पनि यस्तै लापरवाही तथा हेलचेक्याइँ गरेका कारण बाहिरबाट आउने यात्रुबाट कोरोना सङ्क्रमण हुँदा जिल्लामा भयावह स्थिति सिर्जना भएको थियो।

कुनै दिन कोरोना सङ्क्रमित देखिएको समयमा उनीहरुलाई राख्ने क्वारेन्टिन तथा आइसोलेसनसमेत छैन। जिल्ला अस्पतालमा जम्मा तीनवटा आइसोलेसन छन् भने जिल्ला बाहिरबाट आउने यात्रुलाई राख्नका लागि क्वारेन्टिन नभएर यसको पूर्वतयारीमा सम्बन्धित निकाय मौन छ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.