बैशाख ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले ढालेको धरहरा ६ वर्षपछि निर्माण गरेर आज एक समारोहकाबीच प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टी गरेका थिए ।
२०७२ वैशाख १२ गतेको महाभूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।
महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि निर्माण गर्न छ वर्ष लाग्यो । भत्किएको धरहरा यथावत् राखी छ वर्षमा नजिकै अर्को धरहरा बनेको छ ।
विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बन्नुभएका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।
भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी संग्राहलय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ ।
धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

