प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

बैशाख ५, काठमाडौँ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ। अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो। प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो।

सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटकपटक आग्रह गर्दा पनि सदस्यले आसनग्रहण नगरेपछि प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर अधिवेशन अन्त्य भएको घोषणा गरे।

बैठक अन्त्य भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारले सदन पुनः सञ्चालन गर्न कांग्रेस, माओवादी केन्द्र र जसपासँग छलफल गर्दा पनि बैठक पुनः सञ्चालन हुने सम्भावना नदेखिएकाले आजै प्रदेश सरकारको मन्त्रिपरिषदबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको र सोहीअनुसार अधिवेशन अन्त्य भएको प्रतिक्रिया दिए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.