माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन हुने

बैशाख ५, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ।

संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु हुने जानकारी गराएका हुन्। उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको बताए। उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने बताए। यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए। उनले भने, ‘हामी वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौहुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं।’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु गर्ने रहेपनि वैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए। बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने बताए।

उनले भने, ‘बैशाख २० गते पहिलो मेशिन घुमाउँछौं। त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं। त्यसपछि उत्पादन सुरु गर्ने, त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर वैशाख ३१ गते आशा गर्दैछौं। तर अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौं। त्यस हिसाबले पहिलो युनिट आइसकेपछि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्तसम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ।’

आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए। साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत् उत्पादन सुरु भइसक्ने उनले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.