बङ्गलादेशी ऊर्जा राज्यमन्त्री राजधानीमा

साउन २४, काठमाडौँ । विद्युत् आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद बिहिबार आइपुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निमन्त्रणामा राज्यमन्त्री हमिद काठमाडौँ आएका हुन् । राज्यमन्त्री हमिदलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्स लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले शुक्रबार द्विपपक्षीय भेटवार्ता एवं समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको जानकारी दिए । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेशले विगत लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेको बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

दुवै देशमा संयुक्त लगानी गर्ने, बङ्गलादेशले नेपालको विद्युत् खरीद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्नेलगायतका विषय समझदारीपत्रमा समेटिने सहसचिव घिमिरेको भनाइ छ । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश स्वयंले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरु कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफल हुने कार्यक्रम तय भएको छ ।

बङ्गलादेशले नेपालबाट करीब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर०ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्समेत बंगलादेशलाई बिक्री गर्ने तयारी भएको यसअघि नै सार्वजनिक भएको थियो ।

ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा यसअघि नै भारत र चीनसँग हस्ताक्षर भइसकेको छ । बङ्गलादेशसँग हुन लागेको यो अर्को सम्झौता हो । नेपालको विद्युत् क्षेत्रीय बजारमा समेत लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

भारतसँग विद्युत् व्यापार सम्झौता९पिटिए० भइसकेको छ । बङ्गलादेशमा विद्युत् लैजानका लागि भारतको समेत सहमति जरुरी छ । यद्यपि काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० सम्मेलनको क्रममा विद्युत् आदानप्रदान तथा सहजीकरणका लागि सार्कस्तरीय ग्रीड स्थापना गर्ने विषयमा सहमति भएको छ । सोही आधारमा समेत नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि सहज हुने विश्वास लिइएको छ ।

विसं २०७४ चैत २१ मा थाइल्याण्डको राजधानी बैंककमा आयोजित दोस्रो एशिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमका अवसरमा पनि दुई मन्त्रीबीच ऊर्जा विकासमा सहकार्य गर्नेबारे छलफल भएको थियो । सो अवसरमा नै राज्यमन्त्री हमिदले नेपालको विद्युत् लैजान भारतको बाटो चाहिने हुँदा यसबारे बङ्गलादेशले आवश्यक पहल गर्ने प्रतिबद्धता मन्त्री पुनसमक्ष व्यक्त गरेका थिए।

राज्यमन्त्री हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ । यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था९इपान०ले आयोजना गर्ने अन्तक्र्रियामा समेत ऊर्जामन्त्री पुन र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले सम्बोधन गर्ने कार्यक्रम छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानी लगायतका विषयमा छलफलका लागि उहाँहरुलाई आग्रह गरिएको जानकारी दिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.