चाबहिल, बौद्ध–जोरपाटी सडकको समस्या भदौं १२ बाट हट्नेः मन्त्री महासेठ

साउन २४, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बिहीबार बिहान चाबहिल–बौद्ध–साँखु सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री महासेठले ने.क.पाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडक विभागका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सम्बन्धित ठेकेदारका साथमा उक्त सडक खण्ड निरीक्षण गरेका हुन् । १३ किमि लम्बाइको यस सडक खण्डको विस्तार ३ वर्षअघि सुरु गरिए पनि हालसम्म कुनै प्रगति नभएपछि स्थानीय घाम लाग्दा धुलो र पानी परेपछि हिलोको समस्या झेल्न बाध्य छन् ।

मन्त्री महासेठले ढल निकासका लागि ल्याइएको तर बिछ्याउन बाँकी ह्युमपाइप, सडक विस्तारमा अवरोध पुर्याएका बिजुलीका पोल, लत्रिएका तार र सडकका खाल्डाखुल्डीको अवलोकन गरे । अवलोकनमा त्यहाँ पुगेको मन्त्रालय र स्थानीय निकायको टोलीलाई स्थानीयले सडकको यस्तो खराब अवस्था तत्काल सुधार गर्न अपिल गरे । बिहीबार बिहान पानी नपरेकाले हिलोको असर नदेखिएको बताउँदै स्थानीयबासीले मन्त्री महासेठलाई पानी परेको समयमा अवलोकनका लागि यहाँ आउन आग्रहसमेत गरे ।

“आज घाम लागेको बिहान पर्यो । पानी परेको दिन मन्त्रीज्यूहरु यहाँ आइदिनुपर्यो अनि यहाँको वास्तविक समस्या देख्नुहुनेछ,” बौद्धका स्थानीय सुरज बैजुले भने । मन्त्री महासेठले सडक विस्तारका क्रममा देखिएको यो अवस्था तत्कालको समस्या नभएको बताए । “सडकको यो अवस्था तत्काल देखिएको समस्या होइन । हामी जनताकै सेवा–सुविधालाई ध्यानमा राखेर काम गरिरहेका छौं,” मन्त्री महासेठले ठोकुवा गरे, “भदौं १२ बाट यो समस्या हट्नेछ, सडकका खाल्डा पुरिनेछन् ।”

Satkar Media House
Leave A Reply

Your email address will not be published.