शिवपुरीको वनमा डढेलो, नियन्त्रणमा हेलिकप्टर प्रयोग

चैत २९, काठमाडौँ । काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो। यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टर प्रयोग गरिएको थियो।

आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको छ। यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ। स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घ संस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास जारी राखेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण, खानेपानी, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मेलम्ची खानेपानी आयोजना लगायतको समन्वयमा आगलागी नियन्त्रणको काम भइरहेको छ। हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ। दिउँसोभन्दा अहिले आगलागी नियन्त्रणतर्फ उन्मुख रहेको पोखरेलले जानकारी दिए। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत भएको त्यहाँका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.