इन्काउन्टर घटनाको निष्पक्ष छानबिन गर्न माग

साउन २३, काठमाडौं । जवाफदेहिता निगरानी समितिले भक्तपुरमा दुई अपहरणकारी मारिएको इन्काउन्टर घटनाको अध्ययन गर्न छानबिन समिति गठनको माग गरेको छ ।

उक्त घटना इन्काउन्टर हो वा गैरन्यायिक हत्या हो भन्ने विषयमा शंका उब्जिएको भन्दै समितिले घटनाको सत्य तथ्य सार्वजनिक गर्न र दोषी देखिएमा कारबाही गर्न स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको हो । उसले राष्ट्रिय मानव अधिकार आयोगलाई आफूले पाएको संवैधानिक अधिकारको प्रयोग गरी घटनाको विस्तृत छानबिनबाट सत्य तथ्य सार्वजनिक गर्न पनि माग गरेको छ ।

अपहरणजस्तो जघन्य अपराधका घटनामा संलग्न कोही पक्राउ नपर्ने र कतिपयको इन्काउन्टर गरिँदा प्रमाण नष्ट हुनुका साथै संविधानले प्रत्याभूत गरेको नागरिकको बाँच्न पाउने हकसमेत हनन हुन पुगेको जवाफदेही निगरानी समितिको तर्फबाट संयोजक चरण प्रसाईंले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । काठमाडौं काँडाघारीका ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्याका आरोपित अजय तामाङ र गोपाल तामाङको भक्तपुरमा प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.