साउन २३, भरतपुर । २०७२ सालको बिनाशकारी भुकम्पका कारण भत्किएका गुम्बाहरु पुनः निर्माणको सवालमा सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
बुधबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले भुकम्प प्रभावित गुम्बा पुनः निर्माणका लागि आएको ८ अर्ब ९३ करोड रुपैयाँ रकम हालसम्म गायब बनाइएको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले युरोपमा बस्ने नेपालीहरुले गुम्बा पुननिर्माणका लागि पठाएको उक्त रकम सरकारी स्तरबाटै गायब बनाइएको भन्दै छिटो भन्दा छिटो रकम निकासा गर्न माग गरे। रकम निकासाका लागि संघर्ष गर्दै आएका बौद्ध बिहार संघ चितवनका अध्यक्ष सिहं बहादुर गोलेले राष्ट्रिय पुननिर्माण प्रधिकरणमार्फत नेपाल सरकारलाई सो रकम प्राप्त भएको जनाउदै हालसम्म स्थानीय स्तरमा रकम पुग्न नसक्नु दुखद रहेको बताए।
उनले संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिमार्फत रकम आउने जानकारीसहितको पत्र आए पनि रकम नआएको बताउदै राज्यले आफुहरुलाई पटक पटक दुख मात्रै दिएको आरोप लगाए । जिल्ला कार्यान्वयन इकाई र जिल्ला प्राविधिक कार्यालयको समन्वयमा पुनः निर्माणका लागि नक्सा डिजाइन समेत गराइसकेपछि बजेट नै स्वीकृत नभएको जवाफ आएपछि आफुहरु संघर्षमा उत्रनुपरेको उनको भनाई छ। बौद्ध बिहार महासंघका महासचिव रामेश्वर ढकालले आफुहरुको संघर्ष निरन्तर जारी रहने बताए। उनले केन्द्रीय आयोजना कार्यान्वयन इकाई, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिसंग अघिल्लो वर्ष बजेट निकासाबारे ६ बुदे सहमति भएपनि कार्यान्वयन हुन नसकेको बताए।
उनले सो सहमति अनुसार पनः निर्माणका लागि मूल्यांकन सर्वेक्षणमा छुटेका गुम्बाहरुबाट पुनः आवेदन लिई निर्माण प्रक्रियामा समावेश गरिए पनि अन्य सहमति हालसम्म पालाना नभएकोमा आक्रोश व्यक्त गरे। कार्यक्रममा जिल्लाका गुम्बाहरुको नक्सांकन तथा सर्वेक्षणमा संलग्न इन्जिनियर साकार श्रेष्ठले हालसम्म सरकारी निकायबाटै विभिन्न कारणले बजेट प्राप्त हुन नसकेको बताए। उनले अब छिट्टै गुम्बामा पुगेको क्षतिअनुसार छुट्याइएको ग्रेडअनुसार बजेट प्राप्त हुने जानकारी दिए। कार्यक्रममा बक्ताहरुले छिटोभन्दा छिटो बजेट प्राप्त नभए जस्तोसुकै कडा संघर्षमा उत्रने चेतावनी दिए। जिल्लाका विभिन्न गुम्बाका पदाधिकारी, लामा गुरु तथा प्रतिनिधिहरुले दबाब कार्यक्रमलाई अझै सशक्त बनाउदै लानुपर्ने बताए।
कार्यक्रममा भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ्ग, तामाङ्ग पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ्ग, बौद्ध गुम्बा बिहार संघ मकवानपुरका सचिव अस्मिता वाइबाले गुम्बा पुनः निर्माणकै लागि आएको बजेट तत्काल स्थानीय स्तरमा पुग्नुपर्नेमा जोड दिए। बौद्ध गुम्बा बिहार संघ चितवनका अध्यक्ष सिहंबहादुर गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका उपाध्यक्ष सोम बहादुर स्याङबोले कार्यक्रमको औचित्यबारे बोलेका थिए।