चैत २२, काठमाडौं । पानी नपर्दा आज वायु प्रदूषण बढ्ने सम्भावना रहेको छ । काठमाडौंमा प्रदूषणको मात्र दिउसो बढ्ने छ ।
“बिहान खासै धेरै वायु प्रदूषण नदेखिए पनि दिउसो प्रदूषण बढ्ने सम्भावना देखिएको छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “देशैभर अहिले वायु प्रदूषण रहे पनि काठमाडौं उपत्यकामा अन्य स्थानको तुलनामा बढी छ । आज दिउसो काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्ने छ ।” यद्यपि भिजिविलिटीमै समस्या आउने गरि भने प्रदूषण नहुने उनको भनाइ छ ।
काठमाडौंमा दिउसो प्रदूण बढे पनि अघिल्लो हप्ता उच्च तहमा पुगेको अवस्थामा भने नपुग्ने उनले बताइन् । पानी नपरेका कारण वायु प्रदूषण नहटेको भन्दै मौसमविद् मानन्धर भन्छिन्, “भोलिबाट भने पानी पर्ने सम्भावना देखिएका प्रदूषण हट्दै जाने छ ।”
बिहीबार, शुक्रबार र शनिबार भने काठमाडौंमा वायु प्रदूषणको मात्रा घटेको थियो । देशका धेरै ठाउँमा डडेलो लागेको तर ठूलो पानी नपरेका कारण वायु प्रदूषण उच्च हुँदै आएको छ । यो वर्ष प्रि–मनसुनमा पनि तुलनात्मक रुपमा अघिल्ला वर्षहरुको भन्दा कम पानी परेको विभागले जनाएको छ ।

