पत्रकार महासङ्घको निर्वाचनका लागि ११ संयुक्त गठबन्धन समूहको उम्मेदवारी घोषणा

चैत १९, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो। कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका लागि साझारूपमा चुनावी मैदानमा उत्रिएको बताए।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका लक्ष्मी पुनलगायतले प्रतिगमनका विरुद्ध अग्रगामी सोच भएका पत्रकार मिलेर २६ औँ महाधिवेशनमा उम्मेदवारी दिएकाले मतदान गर्न आह्वान गरेका थिए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रमेश विष्टलाई समर्थन गर्दै सोही पदका उम्मेदवार ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएको जानकारी गराइएको थियो। यसैगरी कोषाध्यक्ष पदका उम्मेदवार प्रकाश थापा, सचिव पदका उम्मेदवार नकुल अर्याललगायतले उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक समूहलाई सहयोग गर्ने घोषणा गर्दै विजयी बनाउन लागिपर्ने बताएका थिए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.