एनआरएनलाई नागरिकता दिने विधेयक संसदमा दर्ता

साउन २३, काठमाडौं । नेपालको संविधानले गैरआवासीय नेपालीलाई निश्चित पक्षमा बाहेक अन्यत्र निर्वाध रुपमा सहभागिता जनाउन पाउने गरी नागरिकता दिने व्यवस्था गरेको छ ।

संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार नपाइरहेका बेला सरकारले नागरिकता ऐन २०६३ संशोधन विधेयक संसदमा दर्ता गराएको छ । संविधानले राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता लिन सकिने संवैधानिक व्यवस्था गरेको छ । संविधानको भाग–२ को नागरिकता महलको धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने प्रावधान छ ।

सो धारामा भनिएको छ– “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।”

संसदमा पेश गरिएको संशोधन विधेयक अनुसार आफू, बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिक रहेको र पछि विदेशी मुलुकको नागरिकता पाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउने सक्ने छन् । प्रस्तावअनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहेको आफैं वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेश गर्नु पर्नेछ । अरु प्रमाणका साथै नेपालको संविधान र कानुन परिपालना गर्ने प्रतिवद्धता पत्र पनि पेश गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.