आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरणः यस्तो छ तयारी

चैत १५, काठमाडौं । लामो प्रतीक्षारत मेचम्चीको पानी आजदेखि काठमाडौंवासीले उपभोग गर्न पाउने भएका छन् ।

आजदेखि वितरण हुने पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) को पुरानै प्रणालीबाट वितरण गरिन लागेको छ । अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा चौबिसैघण्टा पानी उपलब्ध गराइने भएको छ । तीबाहेक अन्यत्र भने चौबिसैघण्टा पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ ।

यस्तो छ तयारी
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले पानी काठमाडौंका धारामा वितरण गर्न तयारी अवस्थामा रहेको जनाएको छ । पुरानो वितरण प्रणाली भएकाले समस्या नआइ सहजै धारामा पिउन योग्य पानी जाने केयूकेएलले जनाएको छ ।

यी क्षेत्रमा जाँदैछ मेलम्चीको पानी
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले बताए । ‘‘चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेका छौँ । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेछौँ,” उनले भने, ‘‘चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गर्ने छौँ ।”

पहिलो दिनदेखि नै पिउन योग्य पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी शुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ ।

केयूकेएलका सहायक प्रवन्धक नारायण कर्णका अनुसार पाइपको फोहोर पखाल्न शुक्रबारदेखि नै थोक वितरणमा पानी पठाइएको छ । ‘‘पाइपको फोहोर सफा गर्न पानी पठाइएकाले १५ गतेसम्म फोहोर सफा भइसक्नेछ । तैपनि केही दिन मेलम्चीको पानी उपयोग गर्ने उपत्यकाबासीले पानी तताएर वा फिल्टर गरेर पिउँदा राम्रो,” उनले भने, ‘‘मेलम्चीको पानी सफा हो । सुन्दरीजलमा खाना मिलिरहेको छ । धारामा पनि सफा पानी जाने हो । पहिलो दिनदेखि नै पिउन मिल्छ ।”

आजसम्म मेलम्चीको पानी कहाँ उपयोग भयो ?

मेलम्ची खानेपानी उप आयोजना–२ का उपनिर्देशक प्रजापतिका अनुसार मेलम्चीको पानी फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो । उनले मेलम्चीको पानी आएपछि शिवरात्रिको लागि वाग्मतीमा पठाएको बताए । ‘‘त्यसपछि सुरुङ सफा गर्न मै उपयोग गरिएको थियो । मेलम्चीको पानी सुन्दरीजल झारिएको आज २६ दिन भएको छ,” उपनिर्देशक प्रजापतिले भने ।

उपत्यकामा १ लाख ८० हजार धारा, सबै ठाउँमा पानी नपठाइने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रमुख मिलन शाक्यका अनुसार धारामा पानी पठाएपछि चुहावट भएका पाइपको मर्मत सम्भार र नयाँ पाइपको परीक्षण सुरु गरिने छ । ‘‘केयूकेएल अन्तर्गत उपत्यकाभर १ लाख ८० हजार धारा छन् । अहिले आएको १७ करोड लिटर पानी यी सबै धारामा भने पठाइने छैन,” उनले भने, ‘‘नियन्त्रित रुपमा पानी पठाइने भएकाले समस्या आउँदैन ।” चरण चरण गरी राजधानीबासीलाई पानी पिलाइन्छ ।”

केयूकेएलका कार्यकारी निर्देशक शाक्य पहिलो चरणमा चक्रपथ रिङरोड क्षेत्रमा पानी वितरण गरिने बताउँछन् । ‘‘रिङरोड चक्रपथ क्षेत्रको केयूकेएल अन्तर्गतका धारामा पानी जाने जानेछ ।”

शुक्रबारदेखि पठाइयो, थोक वितरणमा पानी

उपत्यकामा १० ओटा ट्यांकी निर्माण गरिएको छ । जसमध्ये नौ ओटा ट्यांकी तयारी अवस्थामा छन् । शुक्रबार थोक वितरणमा पानी परीक्षणका लागि पठाइयो । विस्तारै सबैगरी १० ओटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी संकलन हुने केयूकेएलले जनाएको छ । थोक वितरण केन्द्र ‘पानी पोखरी’ तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् ।

दैनिक दुईघण्टाको दरले पानी पठाइने

सहायक प्रवन्धक कर्ण दैनिक २ घण्टाको दरले पानी वितरण गर्ने केयूकेएलको योजना रहेको बताउँछन् । ‘‘हामीले दैनिक चार करोड लिटर पानी पुरानो पाइपलाइन सिस्टमबाट पठाउँनेछौँ । मेलम्ची खानेपानी आयोजनाले साढे आठ करोड लिटर पानी पठाउने भए पनि पुरानो पाइपमा धान्न सक्ने गरी पठाउनेछौँ । त्यसपछि विस्तारै पानी बढाएर ढल व्यवस्थापन र चुहावट भएको ठाउँ मर्मतमा जुट्नेछौँ,” उनले भने ।

ढल व्यवस्थापन र चुहावट रोक्न क्विक रेस्पोन्स टिम

केयूकेएलले मेलम्चीको पानीले सडक जलमग्न भए क्विक रेस्पोन्स टिम तत्काल मर्मत गर्न जनाएको छ । ढल व्यवस्थापनदेखि कार्यालय प्रमुखको नेतृत्वमा नै क्विक रेस्पोन्सको टिम बनेको छ । जसमा पलम्वरदेखि इन्जिनियर र प्राविधिक टोलीको सहभागिता छ ।

दोस्रो चरणमा चक्रपथ बाहिर

मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.