उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसंघको निर्देशिका

साउन २२, सियोल । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारीस्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ ।

राष्ट्रसंघीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिकाबमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् । एक वर्षअघि दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफमार्फत् करिब ८० लाख अमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरुजस्ता सहायता सामग्री प्रदान गरेको थियो । तर, उत्तर कोरियाले आणविक परीक्षणसमेतका क्रियाकलापहरु अघि बढाएसँगै सो कार्यक्रम रोकिएको थियो ।

खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट संकटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसंघीय सुरक्षा परिषदले मन्जुरी दिएको छ । नयाँ निर्देशिकाबमोजिम राष्ट्रसंघ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना क्रियाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ । ‘हाम्रो सरकारले ८० लाख अमेरिकी डलर नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ’–नाम नबताउने शर्तमा ती अधिकारीले भने–‘अब काममा तीव्र प्रगति हुने अपेक्षा गरिएको छ ।’

राष्ट्रसंघको नयाँ व्यवस्थाले उत्तर कोरियाका लागि थप मानवीय सहायता जुटाउन सियोललाई पनि बाटो खुलेको छ । रासस÷योन्हाप

Satkar Media House
Leave A Reply

Your email address will not be published.