स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि अनशन

चैत ६, काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन बसेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर किर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेको हो ।

नेविसङ्घले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि नतिजा प्रकाशनमा भएको ढिलाइले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था भएकाले परीक्षाको नतिजा एक महिनाभित्र सुनिश्चितताको माग राख्दै अनिश्चितकालिन रिले अनशन बसेको नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिनुभयो ।

त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, नेविसङ्घ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, त्रिविको प्राध्यापक तथा विद्यार्थी सङ्गठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने काम बन्द गर्नुपर्ने बताएको छ ।

जारी अनशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा रामशरण महत, अर्जुननरसिंह केसी, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले ऐक्यबद्धता जनाइसक्नुभएको छ । आफूले राखेका जायज माग पूरा नगरे आमरण अनशन बस्ने नेविसङ्घका नेता धर्मराज शाहीले बताउनुभयो । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.