चैत १, जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएका हुन् ।
विज्ञप्तिमा भ्रष्टाचार उन्मूलन गर्न मोर्चाले बम विस्फोट गराएको उल्लेख छ । विस्फोटको कारण नेपाल सरकार र प्रदेश सरकार रहेको भन्दै सजन व्यक्तिलाई अपराधी भन्नु सरकारको गल्ती रहेको उल्लेख गरिएको छ । तराईमा भ्रष्टाचार उन्मूलन अभियानअन्तर्गत मोर्चाले विस्फोट जनाएको हो । विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित आठजना घाइते भएका छन् । विस्फोटमा सख्त घाइते भएका दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ । मालपोत कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तलामा बिस्फोट हुँदा छर्रा लागेर कार्यालयमा कार्यरत ३८ वर्षीय कर्मचारी शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।
बमको छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका १३ का ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका १६, तरेगानाका ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका ३ का ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका ४ का ३८ वर्षीय फूलकुमार ठाकुर तथा गोलबजार ६ की ३५ वर्षीया लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विस्फोटपछि भएको आगलागीबाट कार्यालयका कागजात जलेका छन् ।


