फागुन २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीमा मनोनीत गरेका नेताहरुलाई पार्टी परित्याग गरेको हो अथवा होइन जानकारी गराउन निर्देशन दिएको छ । केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले २४ घण्टाभित्र पार्टी परित्याग गरेको हो वा होइन जानकारी गराउन निर्देशन दिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा ‘बादल’सहितका नेताहरु नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए । जसमध्ये बादल, थापा, भट्ट, थारु र लामा मन्त्री छन् ।

