मेलम्चीको पानी सुन्दरीजल झर्दै, आज प्रधानमन्त्री ओली अवलोकनमा निस्कने

फागुन २२, काठमाडौँ । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।

‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले भने। उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ। सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनले बताए। गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो। आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ।

आयोजनाका कार्यकारी निर्देशक खत्रीका अनुसार शुक्रबार साँझसम्म मुहानस्थल हेलम्बु, अम्बाथानबाट सुरुङमार्गमा पठाएको पानीले १९ किलोमिटर पार गरिसकेको छ। मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ। अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्रालो झर्छ। त्यसपछि एक किमि उकालो चढेर फेरि ओह्रालो हुँदै सुन्दरीजल पुग्छ। ‘सबैभन्दा होचो सुरुङ अम्बाथान–सुन्दरीजलमा पानीको सतह १० मिटर जमेको छ,’ खत्रीले भने।

शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ। सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले जनाए। उनका अनुसार सुरुङ भरिएपछि पुनः खाली गर्ने आयोजनाको तयारी थियो। तर उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ। त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन्।

‘सीधै केन्द्र परीक्षण गरेर पाइपलाइनमा पानी पठाउने छोटो बाटो आयोजनाले रोजेको छ,’ कार्यकारी निर्देशक खत्रीले भने। प्रशोधन केन्द्र र पाइपलाइनको परीक्षण एकसाथ अघि बढ्ने उनले बताए। आयोजनाको छोटो बाटो अनुसार सुन्दरीजल आसपासका उपभोक्ताले आगामी एक सातापछि नै मेलम्ची पानी उपभोग गर्न पाउने खत्रीको दाबी छ। ‘सुन्दरीजल आसपास काठमाडौं खानेपानी वितरण आयोजना (केयुकेएल) को नेटवर्कभित्र तुरुन्त धारामा पानी झर्नेछ,’ उनले भने।

झन्डै १५–१६ दिन लाग्ने अनुमानसहित मेलम्ची पानी सुरुङमा प्रवेश गराएर परीक्षण थालिएको थियो। सो समयभित्रै मेलम्ची पानी सुन्दरीजल झर्ने देखिएको हो।

हालसम्मको परीक्षणमा सुरुङमा समस्या नदेखिएकाले आयोजनाले परीक्षण अवधि घटाएर संक्षिप्त कार्यविधि अघि बढाउन खोजेको खत्रीको भनाइ छ । यसअघि आयोजनाले परीक्षण गर्न दुई महिना लाग्ने बताएको थियो । आयोजनाले परीक्षण अवधि एक महिनाभन्दा तल झार्न खोजेको देखिन्छ । ‘उपत्यकावासीले एक सातापछिदेखि नै मेलम्ची पानी उपभोग गर्न पाउने देखियो,’ कार्यकारी निर्देशक खत्री भन्छन्, ‘तर पाइपलाइन परीक्षण गर्दै अघि बढ्दा सबै उपभोक्ताको धारामा मेलम्ची पानी पुग्न अझै एक वर्षसम्म लाग्न सक्छ ।’

मेलम्ची आयोजनाको खानेपानी मन्त्री मणिचन्द्र थापाले गत फागुन १० गते साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) आरम्भ गरेका थिए । यसअघि गत असारमा गरिएको सुरुङ परीक्षण प्राविधिक दुर्घटना निम्तिएर असफल भएको थियो ।

पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर पानी उपत्यका पुग्नेछ । परीक्षण प्राविधिक मापदण्ड अनुसार अहिले प्रतिसेकेन्ड दुई सय ६० लिटर पानी सुरुङमा हालिएको खत्रीले जनाए । यही सुरुङमार्फत सिन्धुपाल्चोककै लार्के र यांग्री खोलासमेत मिसाएर थप १७÷ १७ करोड लिटर पानी लैजाने आयोजनाको तयारी छ । यसका लागि मेलम्ची मुहानसम्म थप नौ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ । यसका लागि प्रारम्भिक कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ । मेलम्ची दक्षिण एसियामकै पहिलो सुरुङमार्ग खानेपानी आयोजना हो । २०५६ देखि मेलम्ची आयोजना सुरु गरिएको थियो ।नागरिकबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.