फागुन २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले फागुन १८ र १९ गते बसेको राजनीतिक परिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मलेन गरेर पार्टीले निर्णयहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मलेनमा बोल्दै पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले वर्तमान परिस्थिति र नेकपा माओवादी केन्द्रको भुमिका विषयक प्रस्ताव सुझावसहित बैठकले पारित गरेको बताए । उनले भने,‘वर्तमान नेपाली राजनितिमा संसदवादी पार्टीहरुका अझ केपी ओली सरकारको जनविरोधी शैली संसदीय फोहोरी खेल भएको छ ।’ उनले संसद पुनःस्थापना भएपनि वर्तमान संकटको समाधान गर्ने संसदवादी दलहरुको क्षमतामा ह्रास आएको आरोप लगाए । बुढाथोकीले दलहरुको असक्षमतालाई नै मध्येनजर गर्दै पार्टीले राजनितिक जन–परामर्श सम्मेलन जनपक्षिय सर्वदलिय सर्वपक्षिय संयुक्त सरकारको नारा नेपाली जनताको नेतृत्वदायी ऐजेन्डा बन्न सफल भएको जिकिर गरे । बैठकले आगामी चैत्र २१ गते विशाल आमसभासहित काठमाडौंमा संयुक्त क्रान्तिकारी जनपरिषदको घोषणासभा सम्पन्न गर्ने विज्ञप्तिमा भनिएको छ । त्यसको लागि पार्टी अध्यक्ष कर्णजित बुढाथोकीको नेतृत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । पार्टीका महासचिव मेघबहादुर खत्रीको संयोवत्वमा आर्थिक विभाग गठन गरेको उल्लेख गरिएको छ ।
यसको साथै बैठकले अखिल नेपाल जेष्ठ नागरिक संघ क्रान्तिकारी गठन भएको र जेष्ठ नागरिकलाई वर्षको एकदिन परिवार सरकारबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको पनि जनाईएकोछ । सरकार र नेकपा विप्लवबीच भइरहेको वार्ताप्रति नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको छ । यो वार्ताको वातावरण बनाउने सन्दर्भमा हाम्रो पार्टीको सकारात्मक पहल सफल भएको र वार्ता देश, जनता र वर्गप्रति जवाफदेही हुँदै परिणाममुखी बन्न सफलता मिलोस भन्ने अपेक्षा गरिएको छ । साथै, पार्टीले अगाडि सारेको राजनीतिक जन–परामर्श सम्मेलन, जनपक्षीय सर्वदलीय सर्वपक्षीय राष्ट्रिय सरकारको एजेण्डामा गोलबद्ध हुन सबै राजनीतिक दल, नागरिक समाज एक हुन आव्हान गर्ने निर्णय भएको पार्टीका महासचिव नरेश शाही र अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

