फागुन २०, काठमाडौँ । प्रहरीले काठमाडौँको जोरपाटीबाट ठूलो परिमाणमा अवैध मदिरा तोङबा बरामद गरेको छ ।
विहिबार महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नविन कार्कीको टोलीले विभिन्न होटलमा बिक्री वितरणका लागि तयारी अवस्थामा राखिएको घरेलु मदिरा उत्पादन गर्ने सामाग्रीसहित करिब दुई हजार किलो बराबरको मदिराजन्य तोङबा बरामद गरेको हो ।

विगत ७ वर्ष अघिदेखि जोरपाटी स्थित सुन्दरटोलमा रहेको एक घरको दोस्रो तलामा फ्याल्ट भाडामा लिई अवैध रुपमा तोङबा तथा मदिरा सप्लाई गर्दै आएका सञ्चालक भने फरर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरबेटी नभएको मौकामा अवैध भट्टि सञ्चालन गरिरहेको विशेष सुराकीको आधारमा प्रहरीले छापा मार्दा प्लास्टिकको प्याकिङ तोङबा र तोङबा बनाउन आवश्यक कच्चापर्दाथ बरामद गरेको छ ।

सुन्दर टोल स्थित भ्याली कारपेट अगाडी रहेको उक्त घरबाट बरामद गरेको मदिरा नियन्त्रणपछि नष्ट गरिने प्रहरीले जनाएको छ । भाडामा रहेको त्यस घरको घरबेटी भने भारतमा रहेको स्थानीयहरुको भनाई छ । यस अघि पनि बौद्धका विभिन्न स्थानबाट ठूलो परिमाणमा मदिरा तथा कच्चापदार्थ बरामदपछि नष्ट गरिएको थियो । बौद्धको नयाँ बस्ती, जोरपाटी नारायणटार, तीनचुली लगायत क्षेत्रमा अवैध तरिकाले प्रशोधन केन्द्र बनाएर काठमाडौँ शहरका विभिन्न होटल तथा पसलहरुमा वितरण गर्दै आएको अनुसन्धानले जनाएको छ ।


