कांग्रेसले हैसियतअनुसारको आकांक्षा राख्नुपर्छ– वरिष्ठ नेता पौडेल

फागुन १६, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनुभयो ।

‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ हैसियत अनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा हाम्रो हैसियत सत्ता चलाउने होइन, प्रतिपक्षमा बस्ने हो ।’ वरिष्ठ नेता पौडेलले व्यवस्था बचे मात्र सत्तामा बस्न पाइने भएकाले कांग्रेसले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा कांग्रेस व्यवस्था बचाउनतर्फ लाग्नुपर्ने उहाँको जोड छ । सत्ताका लागि विभिन्न प्रस्ताव आए पनि नफुर्कन पौडेलले नेतृत्वलाई सचेत गराउनुभयो ।

पौडेलले अहिलेको संविधान उत्कृष्ट भएकाले संविधानको रक्षाको लागि कांग्रेस दृढ भएर लाग्नुपर्ने बताउनुभयो । जति आन्दोलन गरे पनि अहिलेको जस्तो उत्कृष्ट संविधान बन्न नसक्ने उहाँको दावी छ । नेता पौडेलले नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ नभनेर गल्ती गरेको बताउनुभयो । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेपछि पुनःस्थापना नगरी कसरी संवैधानिक हुन्छ भन्दै उहाको प्रश्न गर्नुभयो ।

‘प्रतिनिसभा विघटनलाई असंवैधानिक भन्ने अनि पुनःस्थापनाको माग नगर्ने ? ,’उहाँले भन्नुभयो, ‘हाम्रो गल्ती त्यहिँ भएको हो, मोहि माग्ने ढुंग्रो लुकाउने काम गर्नु हुँदैनथ्यो ।’ उहाँले प्रतिनिसभा पुनःस्थापना नभएको अवस्थामा देश पुनः गृह युद्धमा जानसक्ने सम्भावना रहेकोमा सर्वोच्चले बचाएको तर्क गर्नुभयो । वरिष्ठ नेता पौडेलका अहिलेको अवस्थामा मुख्य अपराधी केपी ओली भएकोे आरोप लगाउनुभयो । संविधान र राष्ट्रलाई जोखिममा पार्ने अपराधीसँग चोचोमोचो मिलाउन नहुनेमा उहँँको जोड छ । उहाँले भन्नुभयो, ‘हामीलाई कसैसँग लिनुदिनु छैन, यतिखेरको अपराधी केपी ओली हो,’ उहाँले भन्नभुयो, ‘देश, संसद् र संविधानलाई जोखिममा हाल्ने अपराधीसँग चोचोमोचो मिलाउनुहुँदैन ।’

वरिष्ठ नेता पौडेलले कम्युनिष्ट पार्टीसँग सिद्धान्त नएभकाले मौसम अनुसारको चोला बदल्ने बताउँदै परिवर्तनको हरेक मोडमा नेतृत्व र जग बसाउने पार्टी कांग्रेस भएको दावी गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.