मिर्गौला के हो ?
मिर्गौला मानव शरीरको महत्वपूर्ण अंग हो । आफ्नो मुठ्ठि बराबरको सिमी आकारको मेरुदण्डको दुबैतर्फ रहेको यो अंगको लगभग १६० ग्राम जति तौल हुने गर्दछ ।
मिर्गौलाले के काम गर्छ ?
मिर्गौलाले पिसाब बनाउँछ । १–१ १÷२ लिटर जति पिसाब २४ घण्टामा बन्ने गर्दछ । पिसाबमा शरीरबाट निस्कने फोहोर पदार्थहरु, बढि पानी, बढि नून लगायत खाएका औषधीका तत्वहरु र विषादी हुने गर्दछ ।
मिर्गौला बिग्रेको लक्षण के हो ?
मिर्गौला बिग्रन थालेको वा मिर्गौलामा परेको प्रारम्भिक असरको कुनै लक्षण नहुने भएकोले कोही पनि समयमा उपचार गराउन जाँदैन । मिर्गौला बिग्रेको लक्षण देखिँदासम्म ढिलो भईसकेको हुन्छ ।
लक्षणहरु के–के हुन ?
१. शरीर सुन्निनु, खासगरी आँखा अनुहार र गोडा
२. पिसाबमा फिँज देखा पर्नु
३. पिसाब कम वा बढि हुनु
४. खाना रुचि नहुनु वा वान्ता हुनु
५. जिउ चिलाउनु
६. छिटो थाक्नु
७. निदाउन नसक्नु
८. रक्तचाप सन्तुलन नहुनु
जस्ता लक्षण र रोगको तालमेल नभएकोले बाहिरबाट स्वस्थ देखिएपनि भित्र रोग शुरु भईसकेको हुनसक्छ ।
मिर्गौला रोगको शुरुवातमा देखा परेको आन्तरिक खराबी यति सुक्ष्म हुन्छ कि शरीर बाहिरबाट पूर्ण स्वस्थ जस्तो देखिन्छ ।
मिर्गौला रोग छ वा छैन कसरी पत्ता लगाउने ?
पिसाब परीक्षण गर्ने । परीक्षण गर्दा पिसाबमा प्रोटीन (अल्बुमिन) देखिएको छ भने मिर्गौलामा रोग छ भन्ने जान्नु पर्दछ ।
पिसाब जाँच गर्दा प्रोटीन देखिएन भने ?
पिसाबमा प्रोटीन देखिएन भने तपाईको मिर्गौलामा रोग छैन । यो सत प्रतिशत सत्य होईन । थप जाँच अर्थात रगतमा क्रियाटिनको जाँच र भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गर्नुपर्ने हुनसक्छ ।
पिसाब जाँच गर्दा प्रोटिन देखियो भने ?
पिसाबमा प्रोटीन देखियो भने मिर्गौलामा रोग छ । तर दोहो¥याएर पिसाब जाँच गर्न जरुरी हुन्छ ।
पुनः पिसाब जाँचमा प्रोटिन देखिएको प्रमाणित भएमा ?
अब उपचार गराउन आवश्यक छ । यसको लागि अस्पताल जानुपर्ने हुन्छ ।
उपचारले मिर्गौला रोग निको हुन्छ ?
समयमै उपचार गरे निको हुन सक्छ । तर रोग धेरै नै बढेको स्थितिमा यो सम्भव हुँदैन ।
बढि सकेको रोगलाई के गर्न सकिन्छ ?
खानपानमा ध्यान दिने, औषधी सेवन, नियमित स्वास्थ्य परीक्षण गरेर रोगको उपचार गर्नुपर्ने हुन्छ । दीर्घ रोग क्रमशः बढ्ने हुनाले सम्बन्धित चिकित्सकसँग सम्पर्कमा रहनुपर्दछ ।
प्रस्तुतीः भिम लामा (काठमाडौँ महानगरपालिकाले सुरु गरेको मिर्गौला बचाऔँ अभियानबाट)

